Rule 16
अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र सम्बन्धी व्यवस्था
(१) अनुसूची–७ मा उल्लेख भए बमोजिमका हाल संचालन भई रहेका उद्योगले यो नियमावली प्रारम्भ भएको मितिले ९० दिन भित्र र यो नियमावली प्रारम्भ हुनु पूर्व दर्ता भई उत्पादन शुरु नभएका उद्योग वा यो नियमावली प्रारम्भ भएपछि दर्ता हुने उद्योगले उत्पादन शुरु गरेको मितिले साठी दिनभित्र सम्बन्धित उद्योगको विस्तृत विवरण उल्लेख गरी अस्थायी प्रदूषण नियन्त्रण  प्रमाणपत्र लिन सम्बन्धित निकाय समक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन प्राप्त भएमा सम्बन्धित निकायले सो निवेदन उपर जाँचबुझ गरी आवश्यकता अनुसार उद्योग सञ्चालन हुने गाउँ विकास समिति वा नगरपालिकाको राय सुझाव समेत लिँदा त्यस्तो उद्योग सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने नदेखेमा वा त्यस्तो प्रभाव कम वा नियन्त्रण गर्न सकिने भएमा त्यस्तो निवेदन प्राप्त भएको मितिले नब्बे दिन भित्र निवेदकलाई एक वर्षको निमित्त अस्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ भएपछि दर्ता हुने उद्योगले नियम ४ बमोजिम क्षेत्र निर्धारण गर्ने सिलसिलामा वा नियम ७ बमोजिम प्रतिवेदन तयार गर्ने सिलसिलामा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको राय सुझाव प्राप्त गरिसकेको भए सम्बन्धित निकायले उपनियम (१) बमोजिम उद्योग सञ्चालन गर्दा वातावरणमा पर्ने प्रभावको सम्बन्धमा पुन गाउँ विकास
समिति वा नगरपालिकाको राय सुझाव लिनु पर्ने छैन ।
(३) नियम १५ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै उद्योगको ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहरमैला सम्बन्धी मापदण्ड तोकिएको रहेछ भने त्यस्ता उद्योगलाई यसरी मापदण्ड तोकिएको मितिले ६ महिना भित्र ऐनको दफा ११ बमोजिम स्थापना गरिएका वा तोकिएका प्रयोगशालाबाट परीक्षण गराई सम्बन्धित निकायले तीन वर्षको लागि स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपनियम (१) र (३) बमोजिम तोकिएको म्यादभित्र अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र वितरण गर्न नसिकएमा सम्बन्धित निकायले उक्त म्याद समाप्त भएको मितिले थप तीन महिना भित्र त्यस्तो प्रमाणपत्र दिन सक्नेछ ।
(५) उपनियम (१) र (३) बमोजिम अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र दिँदा सम्बन्धित निकायले त्यस्तो उद्योगहरूले पालन गर्नु पर्ने गरी आवश्यकता अनुसार देहायका सबै वा कुनै शर्तहरू तोक्न सक्नेछ ः–
(क) प्रदूषण कम गर्न वा नियन्त्रण गर्न आवश्यक उपकरणहरू निर्धारित
समयमा जडान गर्ने,
(ख) जडान भएका प्रदूषण नियन्त्रण उपकरणहरूको उचित प्रयोग गर्ने,
(ग) निर्धारित समयमा मात्र उद्योग सञ्चालन गर्ने,
(घ) कुनै उद्योग हाता भित्र कुनै काम गरिएबाट प्रदूषण भएकोमा सो काम रोक्का गर्नको लागि खास उपायहरू अवलम्वन गर्ने,
(ङ) कुनै उद्योगको काम कारबाहीबाट उद्योग हाता बाहिर प्रदूषण भएमा सो काम कारवाहीलाई नियन्त्रण गर्नको लागि खास उपायहरू
अवलम्बन गर्ने,
(च) अनुगमनको लागि आवश्यक पर्ने उपकरणहरू निश्चित समयमा उपलब्ध गराउने,
(छ) सम्बन्धित निकायले उद्योगको प्रकृति अनुसार आवश्यक सम्झी तोकिदिएका अन्य शर्त बमोजिमका काम गर्ने ।
(६) उपनियम (१) बमोजिमको अस्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र प्रत्येक एक वर्षमा र उपनियम (३) बमोजिमको स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्र प्रत्येक तीन वर्षमा नवीकरण गराउनु पर्नेछ ।
(७) यस नियम बमोजिम पाएको अस्थायी वा स्थायी प्रदूषण नियन्त्रण प्रमाणपत्रमा उल्लिखित शर्तहरू सबैले देख्ने गरी उद्योग सञ्चालन भएको ठाउँमा राख्नु पर्नेछ ।
(८) सम्बन्धित निकायले यस नियम बमोजिम प्रमाणपत्र पाएका उद्योगहरूको नामावली अद्यावधिक रूपमा राखी सो नामावली मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ ।